ललितपुर – महँगा कपडा र जुत्ता। नयाँ मोडलको स्मार्टफोन। इन्टरनेशनल मेकअप। दैनिक वा कम्तिमा हप्तामा चार दिनसम्म काठमाडौं र झम्सिखेल क्लबमा पार्टी। खर्च दैनिक दुई देखि पाँचहजार उनको ठाँटबाट नै टोलमा अलग थियो। उनको हाउभाउ, लवाई–खवाई र कुराकानी शैली कसैलाई प्रभावित पार्न काफी थियो।
हो यिनै तथ्यको पृष्ठभूमि भएकी सुरक्षा बज्राचार्य १४ दिनदेखि अहिले महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छिन्। २४ वर्षे उनीविरुद्ध ३५ युवा ठगेको जाहेरी परिसकेको छ। सुन्धारा पाटन, सुन्धाराकी सुरक्षाको अपराधशैलीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
‘ठगिनेहरु अधिकांस आरोपीकै साथी छन्। स्कुलमा पढेका, स्थानीय र चिनजानमै ठगी गरेको भेटिएको छ,’ परिसरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले नागरिकन्युजसँग भने। अनुसन्धान अधिकारीका अनुसार सुरक्षाले अस्तित्वमै नरहेको एउटा कम्पनी बनाएकी थिइन्। त्यो कम्पनीले हस्तकलाका क्षेत्रमा कामगर्ने सुरक्षाले साथीभाईलाई भन्दै आएकी थिइन्। पाटनको सुन्धारा क्षेत्रकी उनले स्थानीय ब्यापारलाई नै ठगीको माध्यम बनाएकी थिइन्।
कम्पनी खोलेको चर्चासँगै सुरक्षाले साथीहरुलाई आर्कषक जागिरको प्रलोभन दिन थालेकी थिइन्। ‘आर्कषक जागिर भन्दै प्रतिब्यक्ति चार हजारदेखि १५ हजारसम्म लिएको निववेदन आएको छ, विश्वासमा लिन थापाथलीको एउटा कार्यालय देखाउने गरेको खुलेको छ,’ डिएसपी कार्कीले भने।Source:Nagariknews
Read More