Tuesday, June 6, 2017

आफ्नै कार्यकर्ताद्वारा एमालेको पार्टी कार्यालय तोडफोड






गाईघाट : उमेदवारको बिषयलाई लिएर नेकपा एमाले चौदण्डी नगरपालिका भित्र चरम विवाद सिर्जना भएको छ । नगर कमिटीले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले मेयरको उमेदवार बनाएको भन्दै आक्रोशित कार्याकर्ताले मंगलबार एमाले नगर कमिटीको पार्टी कार्यालय तोडफोड गर्नुकासाथै पार्टी कार्यालयमा कालोझण्डा राखेका छन् ।

कार्यकर्ताहरुले चौदण्डी नगर कमिटीको कार्यालय बेल्टार ६ मा तालाबन्दी गर्नुकासाथै पार्टी कार्यालय भित्र रहेको दुई थान कुर्सी जलाई कालोझण्डा गाडेका छन् । तालाबन्दीपछि कार्यकर्ताहरुले बेल्टार बजारमा प्रर्दशन गरेका छन् । आम कार्यकर्ताको भावना विपरित प्रदेश कमिटीले निर्णय गरेको भन्दै आक्रोशित कार्यकर्ताले निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने र उमेदवारलाई पनि नगर क्षेत्रमा प्रवेश गर्न नदिने अडान राखेका छन् । हुलहुज्जतकासाथ पार्टी कार्यालयमा पुगेका आक्रोशित कार्यकर्ताले कार्यालय तोडफोड गरी कुर्सी वाहिर ल्याएर जलाएको स्थानीय सञ्चारकर्मी केदार कटुवालले जानकारी दिनुभयो ।

कुर्सी जलाउन थालेपछि भिड नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । प्रहरी निरीक्षक चौधरीले पार्टी भित्रको आन्तरिक विवादका बिषयलाई लिएर कालोझण्डा राख्ने र तालाबन्दी लगाउने काम भएको बताउनुभयो ।
तालाबन्दीपछि कार्यकर्ताहरुले बेल्टार बजारमा प्रर्दशन गरेका छन् । सिफारिसभन्दा वाहेकका उमेदवार मान्दैनौ, स्थानीय नेतालाई टिकट देऊ लगायतका माग राख्दै नाराजुलुससहित बजार परिक्रमा गरेका कार्यकर्ताको जुलुस पुष्पलाल चोकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभालाई स्थानीय नेताले सम्बोधन गरेका थिए । source:Annapurnapost


EmoticonEmoticon